(काठमाडौं) – हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । भारतको बेतिया जिल्ला, जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसादलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट पक्राउ गरेको हो ।
अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले बताए ।
कुँवरका अनुसार उनको साथबाट नेपाली नगद ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजार बराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइल पनि बरामद भएको छ । उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।