काठमाडौं उपत्यकाका यि स्थानमा रात्रिकालीन बस सेवा सुरु

91

काठमाडौं । काठमाडौं महानगरपालिको संयोजनमा राजधानी उपत्यकामा आजबाट रात्रिकालीन बस सेवा सुरु भएको छ ।

काठमाडौं महानगरको पहलमा उपत्यकामा रहेका पालिका र साझा यातायातको सहकार्यमा रात्रिकालीन बस सेवा सुरु भएको हो ।

अबदेखि राति ८ बजेदेखि ११ बजेसम्म संचालन हुने साझा यातायातको रात्री बस ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।

यस्तै थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म अर्को रुट चल्नेछ । पूर्व पश्चिम दिशाको यो रुटको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् ।

तोकिएका स्थानका बस स्टपमा हरेक २० मिनेटमा बस पुग्ने जनाइएको छ । रात्रिकालीन बस सेवा सुरु गर्दा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनीता डंगोल सहभागी थिइन् ।

समाचार वर्गहरू