काठमाडौं – यस वर्ष केही समूहले कात्तिक ३० गते लक्ष्मीपूजा मनाउने भनी शास्त्रीय मान्यता विपरीत पर्व मनाउन उत्प्रेरित गरी प्रचारप्रसार गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले आपत्ति प्रकट गरेका छन् ।
‘केही समूहले राजनीतिक उद्देश्य प्राप्तिका लागि धार्मिक विषयमा अशास्त्रीय मान्यता स्थापित गर्न खोजेका छन्, तिथिमा घटबढ यसअघि विसं २०६६, २०६७, २०७६ र त्यसअघि पनि भएको हो, यस वर्षको पात्रो गत वर्ष माघमै निस्किए पनि तिहारको मुखमा विवाद निकाले’, उनले भने ।
राजनीतिक उद्देश्यबाट प्रेरित भई गरिएको आह्वान पुराना पात्रोसम्मत समेत नभएकाले यसअघि लक्ष्मीपूजा, आत्म (म्ह) पूजा र भाइटीका मनाइएको तिथिमिति हेर्न सदस्य जोशीले अनुरोध गरेका छन् ।
राजनीति गर्नेहरूले चाडपर्वको निर्णय गरेर समाजलाई भ्रमित गर्न खोजेको उनको आरोप छ । धर्मशास्त्र र ज्योतिषशास्त्र विपरीत गरिएको चाडपर्वको निर्णय मान्य नहुने उनको भनाइ छ । त्यसअनुसार चाड पर्व मनाउन आह्वान गर्नेले पात्रो गणना गरेर सार्वजनिक गर्नुपर्ने समिति सदस्य जोशीको सुझाव छ । रासस