काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनसम्मको रेलमार्ग निर्माणमा चिनियाँ सहयोगको अपेक्षा गरेको बताएकी छन् । शनिबार साँझ सोल्टी होटलमा आयोजित रात्रि भोज कार्यक्रममा उनले सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने कुराहरुमा जोड दिँदै आएको बताइन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आफूले आयोजना गरेको रात्रीभोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने विषयलाई नेपालले जोड दिँदै आएको स्मरण गराइन् ।
‘नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन्’, उनले भनिन, ‘रेल्वेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि, उपलब्ध स्रोत र साधनको परीप्रेक्षमा नेपालीहरुको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
उनले रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्षमा नेपालीहरुको यो चाहाना छिटै पुरा हुनेमा विश्वास रहेको बताइन् ।
लुम्बिनी गौतम बुद्धको जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको चर्चा गर्दै राष्ट्रपति भण्डारीले लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने नेपालको लक्ष्यमा चीनको सहयोगको अपेक्षा गरेको पनि बताइन् ।
समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न चीनसँगको सहकार्यलाई नेपालले उच्च प्राथमिकतामा राखेको पनि राष्ट्रपति भण्डारीले बताइन् ।