काठमाडौं – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस विरुद्धको विश्वको पहिलो सफल भ्याक्सिन बनाएको दाबी गरेका छन् ।
राष्ट्रपति पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् । रुसको स्वास्थ्य मन्त्रालयले पनि यसलाई स्वीकृती दिएको छ ।
रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए ।
उनले उक्त भ्याक्सिन मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र उक्त भ्याक्सिन सुरक्षाका सबै मापदण्ड पार गर्न सफल भएको बताएका छन् ।
राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमार्फत मस्को गामालेया इन्स्टिच्युटले बनाएको खोप सुरक्षित रहेको बताएका छन् । उक्त खोप आफ्नै छोरीलाई लगाइएको पनि उनले जानकारी दिए ।
कोरोना भाइरसको महामारीविरूद्ध लड्न अहिलेसम्म एक सय भन्दा बढी खोपहरू बनाउने प्रयास भइरहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार चार खोपहरू भने अन्तिम चरणमा पुगेका छन् ।
रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ ।