काठमाडौं – कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुखले भण्डारीलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री भण्डारीलाई सोमबार मन्त्रीमा नियुक्त गरेसँगै प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन्।
यसअघि तत्कालीन कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई मानव तस्करीको आरोप लागेपछि उनले राजीनामा दिएका थिए। राजीनामा दिएसँगै उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो। प्रहरीले अनुसन्धान गरे पनि उनलाई उन्मुक्ति दिइसकिएको छ।
त्यससँगै मन्त्रीविहीन रहेको उक्त मन्त्रालयमा भण्डारीलाई नियुक्त गरिएको हो। सुनसरीको क्षेत्र नं. २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारी यसअघि एमालेबाट कोशी प्रदेशसभा प्रमुख सचेतक थिए।
मन्त्रीको जिम्मेवारी पाएपछि कोशी प्रदेशमा बन्न बाँकी ऐन निर्माण गर्ने, ऐन कार्यान्वयन गर्ने आवश्यक नियमावली निर्माण गर्ने भण्डारीले बताए ।
उनले नयाँ कानुन बनाउनुपर्ने भए प्रदेश सभामार्फत पहल लिने पनि बताए । त्यस्तै कोशी प्रदेशको यातायात मन्त्रालय पनि आन्तरिक मामिलामन्त्रीले नै सम्हाल्ने भएकाले यातायात क्षेत्रलाई लाई पारदर्शी, व्यवसायिक र उन्नत बनाउन पहल लिने भण्डारीले बताए ।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लब अधिकारीले तीन जना युवालाई अनधिकृत रूपमा जापान लगेपछि विवादमा परेका थिए । उनी जापानको एयरपोर्टबाट डिपोर्ट भई नेपाल फर्काइएका थिए । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।