कोशी प्रदेशमै रुमलियो मनसुन, मध्य र पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने

7

काठमाडौं – देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा देशभर गर्मी बढेको हो । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा केही दिनदेखि नै तापक्रम ४० डिग्री र त्योभन्दा माथि पुगेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् हिजो भए पनि यसपाली गएको २८ गते नै पूर्वमा प्रवेश गरेको थियो ।

मनसुन प्रवेश गरेसँगै कोशी प्रदेशका विभिन्न ठाउँमा दिनहुँजसो पानी परिरहेको छ । कोशी प्रदेशबाट मनसुन अगाडि बढ्न अनुकुल वातावरण बन्दै गएको मौसमविद्ले बताएका छन् । तर पश्चिममा मनसुन फैलन अझै केही दिन लाग्नेछ । 

यसैबीच, मध्य तथा पश्चिम तराईमा तीन दिनसम्म तातो लहर चल्ने भएको छ । महाशाखाले बिहीबार साँझ विशेष बुलेटिनमार्फत् देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिन (जेठ ३२ गतेदेखि असार २ गते)सम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ ।महाशाखाले तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू