खुकुरी प्रहार गरी मकवानपुरमा एकको हत्या,

19
साङ्केतिक तस्विर

हेटौंडा – धारिलो हतियार प्रयोग गरी मकवानपुरमा एक जनाको हत्या गरिएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

आफ्नो कुरा काटेको र विभिन्न आरोप लगाएको भन्दै स्थानीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रयोग गरी बकैया गाउँपालिका–३, जलजलकी ५० वर्षीया सन्तमाया लोको हत्या गरेको हो ।

उनको परिवारका तीनै जनाको ज्यान मार्ने उद्देश्यले बुधबार साँझ खकुरी र बञ्चरो अन्धाधुन्ध प्रहार गरी उनको हत्या गरेको र दुई जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सन्तमाया लोलाई सोही ठाउँका ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । घाइते सन्तमायाको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो । मृतकका पति ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ वर्षीया दिबिमाया मोक्तान घाइते भएका छन् ।

घाइतेहरुको टाउको, निधारमा चोट रहेको र उनीहरुको हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले हतियार सहित पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ ।

समाचार वर्गहरू