काठमाडौं – पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् ।
प्रहरीका अनुसार ६३ वर्षीय डम्मर गिरीले गएराति अन्दाजी १० बजे ४३ वर्षीय छोरा शंकर गिरीको हत्या गरेका हुन् । घरायसी विवादमा उनले छोरामाथि धारिलो हतियार (खुर्पा) प्रहार गरेका थिए ।
खुर्पा प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका शंकरको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा राति १०:४५ बजे मृत्यु भएको हो ।
घटनाको जानकारी पाउनसाथ खटिएको प्रहरीले घटनास्थलबाटै खुर्पा बरामद गर्नुका साथै छोराको हत्यामा संलग्न बुबा डम्मर गिरीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका गिरीमाथि हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।