गठबन्धन सरकार पाँचै वर्ष टिक्छ – प्रधानमन्त्री दाहाल

38

काठमाडौं – प्रधानमन्त्री एवम्  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरेका छन्।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले सरकार ढाल्न र गठबन्धन फुटाउन केही दल लागिपरेको भन्दै त्यो सफल नहुने बताए।

उनले भने, ‘हामीले निकै बलियो सरकार बनाएका छौँ। यो सरकार पाँच वर्ष नै रहन्छ। कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनका विरुद्ध लागेको पनि देखियो। अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ।’

प्रधानमन्त्री  दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ  बनाउन सफल भएको बताए। उनले भने, ‘हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँ। अझै पनि बलियो हुने छ। मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ। ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्’ प्रधानमन्त्री दाहालले भने।

वर्तमान सरकार गठन भएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएको दाबी गर्दै उनले भने, ‘हामीले मिटरब्याजीलाई कारबाही गरेका छौँ। नक्कली भुटानी शरणार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौँ। यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरुको ठूलो साथ र सहयोग रहेको छ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू