काठमाडौं – सरकारले गत बिहीबार बढाएको दूधको मूल्य आजबाट लागू भएको छ । आजबाट लागू हुने गरी सरकारले दूधमा प्रतिलिटर ६ रुपैयाँ बढाएको हो । सरकारको निर्देशनमा दुग्ध विकास संस्थान डीडीसीले दुई वर्षपछि दूधको मूल्य बढाएको हो ।
दुग्ध सहकारीहरु र डेरी उद्योग संघको दबाब पछि सरकारले दूधको मूल्य बढाएको हो । मूल्य नबढ्दा धान्नै नसकिएको भन्दै किसानले हड्तालको घोषणा गरेपछि एक महिना अघि आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।
किसानहरुको चेतावनी पछि कृषि तथा पशुपन्छी विकास मन्क्री चत्रपाणाी खनालको संयोजकत्वमा केही दिन अघि राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ र निजी डेरीहरुको संस्थाबीच भएको छलफलमा मूल्य बढाउन सहमति जुटेको थियो । त्यही छलफलमा दूधको मूल्य ६ रुपैयाँसम्म बढाउनुपर्नेमा सबै एकमत भएका थिए ।
नयाँ मूल्य (आज) शनिबारबाट लागू हुने डीडीसीका योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए । कृषि तथा पशुपन्छी मन्त्रालयले बिहीबार दूधको मूल्य बढाउने निर्णय गरी कार्यान्वयनका लागि डीडीसीलाई पत्र पठाएको थियो । उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ७० रुपैयाँमा बिक्री वितरण हुँदै आएको थियो । नयाँ भाउ अनुसार ६९ प्रतिशत किसानले र ३१ प्रतिशत उद्योगीले पाउनेछन् ।