चार वर्षे स्नातक कार्यक्रमलाई तिन बर्षे बनाउने तयारी

11

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चार वर्षे स्नातक कार्यक्रमलाई तिन बर्षे बनाउने प्रस्ताव गरेको छ ।

विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक परिषद्मा लगेका हुन्। उनले चार वर्षे स्नातक निकै लामो र खर्चिलो भएको भन्दै तीन वर्षमा झार्न प्रस्ताव गरेको बताएका छन् ।

असार १४ गते त्रिवि प्राज्ञिक परिषद्को बैठकमा डिन बुढाथोकीले शिक्षा शास्त्र संकायको प्राविधिक विषयबाहेक अन्यमा चार वर्षे स्नातक कार्यक्रम तीन वर्षमा झार्न लिखित प्रस्ताव पेस गरेका हुन्।

परिषद् सदस्यसमेत रहेका उनले त्रिविले विश्वबैंकको इसारामा कार्यान्वयनमा ल्याइएको चार वर्षे स्नातक कार्यक्रमहरू शिक्षा शास्त्र संकायमा साढे पाँच वर्षमा पनि पूरा हुन नसकेको बताउँदै यसले विद्यार्थीका लागि बोझ थपिदिएको अवगत गराए।

शिक्षा शास्त्र संकायको आइटी, विज्ञानबाहेकका सबै कार्यक्रममा चार वर्षे स्नातकमा भर्ना हुनेको संख्या घट्दै गएकाले विद्यार्थीको रुचि लामो समयावधिको कोर्समा कम हुँदै गएको उल्लेख गर्दै उनले तीन वर्षमा झार्न लिखित रूपमा प्रस्ताव पेस गरेको उनको भनाई छ।

उनको यो प्रस्तावमा उपस्थित अन्य डिनहरूले समेत समर्थन जनाएको डिन बुढाथोकीले सुनाए। उनका अनुसार अमेरिकाबाहेक अधिकांश देशमा स्नातक तीन वर्षे नै छ। त्रिविले पनि ती देशका कार्यक्रमलाई समकक्षता दिएको छ। यस्तो अवस्थामा नेपालमा पनि तीन वर्षे स्नातक कायम गर्दा अन्तर्राष्ट्रिय स्तरकै कोर्स हुने उनको ठहर छ।

विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव शंकरप्रसाद भण्डारीले विदेशमा तीन वर्षमा पूरा हुने कोर्स नेपालमा चार वर्षे गर्नुको कारणबारे आयोगमा छलफल अघि बढेको बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू