(रुकुम पश्चिम) – संरक्षित वन्यजन्तु चितुवाको छाला सहित २ जना रुकुम पश्चिमबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको विशेष प्रहरी टोलीले मुसीकोट नगरपालिका–७, वैरीदहबाट चितुवाको छाला सहित उनीहरुलाई पक्राउ गरेको हो ।
मध्यपहाडी लोकमार्ग हुँदै खलंगा तर्फ आउँदै गरेका रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–१४, का अर्जुन बुढा भनिने छाँया विक र दाङको घोराही उपमहानगरपालिका–१२, का १९ वर्षीय गणेश नेपालीलाई चितुवाको छाला सहित प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा मध्यपहाडी लोकमार्गमै पुगेको जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले उनीहरुलाई चितुवाको छाला सहित पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।
लोकमार्गमा हिँडिरहेका उनीहरुलाई प्रहरीले रोक्न खोजेपछि भाग्न खोजेका थिए । भाग्न प्रयास गरेपनि प्रहरीले उनीहरुलाई पक्रन सफल भएको डीएसपी खड्काले बताए । उनीहरुलाई प्रहरीको हिरातमा राखिएको छ ।