चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा सुर्पुदगी सन्धिमा हस्ताक्षर नहुने

25

काठमाडौँ, – चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका क्रममा सुर्पुदगी तथा पारस्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको छ । सी भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आयोजना गरेको सर्वदलीय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले सीको भ्रमणमा दुई मुलुकबीच सुपुर्दगी सन्धी नहुने प्रष्ट पारेका हुन् ।

बैठकमा सहभागी एक प्रतिनिधिले भने, ‘भ्रमणको दौरानमा सुपुर्दगी सन्धीको बारेमा छलफल हुन्छ । र, साथै सीमा व्यवस्थापन र कानुनी सहायता सम्बन्धी सम्झौता हुनसक्छन् ।’प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपङिको राजकीय भ्रमणको पूर्वसन्ध्यामा बिहीबार पूर्व प्रधानमान्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालवाटारमा छलफल गरेका हुन् । चिनियाँ राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका लागि आगामी काठमाडौं आउँदै छन् ।

छलफलमा सरकारको तर्फबाट उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिइएको थियो । सहभागी नेता एवं विज्ञहरुले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमणलाई ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धि, सम्झौता गर्न सुझाव दिएका छन् ।

सुझाव ग्रहणपछि प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रही आएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गरे ।

उनले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने भन्दै केरुङ–काठमाडौँ रेलमार्ग निमार्णको लगानीको ढाँचाबारे समेत छलफल गरिने बताए । प्रधानमन्त्री ओलीले भने, ‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैं तर, तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहान्छौँ ।

प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको पनि बताएका छन् । विदेश तथा छिमेक मामिला सम्बन्धी नीतिमा नेपालले सन्तुलनका तीन आधार तय गरेर अघि बढेको प्रधानमन्त्री ओलीको भनाई छ ।

‘राष्ट्रिय हित, सम्बन्धको न्यायोचितता र अन्तर्राष्ट्रिय विश्वसनीयता हाम्रो परराष्ट्र मामिलाको सन्तुलनका आधार हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘विदेश मामिलामा हामी अहिले इतिहासकै सबैभन्दा बढी स्पष्टताका साथ अघि बढेका छौं, कुनै अस्पष्टता छैन ।’

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर भएको भन्दै भ्रमण सफल बनाउनुपर्ने बताए ।

छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल पूर्व प्रधानमन्त्री एवं नेपाली काँगेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा सुझाव दिएका थिए ।

समाचार वर्गहरू