चिनियाँ राष्ट्रपति सीले आज नेकपाका नेतासँग भेटवार्ता गर्दै

15

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङले आज सत्तारुढ दल नेपाल कम्युष्निट पार्टी नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गर्दैछन् । नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटघाटको सिलसिलालाई आइतबार पनि निरन्तरता दिने भएका छन् ।

शनिबार नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका सीले आइतबार नेकपा नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका छ । स्रोतका अनुसार, नेकपाका सचिवालय सदस्यहरूले संयुक्त रूपमा सीसँग भेटवार्ता गर्ने तय भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा हुने सो भेटवार्ता बिहान १०ः३० बजेका लागि तोकिएको छ । नेकपाका सचिवालय सदस्यहरूसँगको संयुक्त भेटलगत्तै प्रचण्डले वान–अन–वान भेटवार्ता गर्ने बताइएको छ ।

नेकपा नेतासँगको भेटपछि राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । सी र ओलीको भेटवार्तापछि द्विपक्षीय वार्ता हुने कार्यतालिका छ ।

द्धिपक्षीय वार्तामा विभिन्न सम्झौताहरूमा हस्ताक्षर हुनेछ । यो क्रम करिब १ घण्टासम्म चल्ने स्रोतले बताएको छ । द्धिपक्षीय वार्तापछि चिनियाँ राष्ट्रपति सी दिउँसो १ बजे स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ ।

समाचार वर्गहरू