काठमाडौं – चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन् । आइतबार साँझ करीब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आएका हुन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । उनले सोमबार र मंगलबारको अधिकांश समय राजनीतिक भेटघाटमा बिताउने छन् ।
विदेशमन्त्री यीले सोमबारको संयन्त्र बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्। नेपाल सरकारका केही विभागीय मन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुले पनि विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम प्रस्तावित छ। ती भेटहरुमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
समकक्षी प्रदीप ज्ञवालीसँग चिनियाँ विदेशमन्त्री वाङको भेटवार्ता सोमबार हुनेछ । परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्तामा तातोपानी र केरुङ नाकाका अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने ड्राइपोर्टलगायतका भौतिक संरचना, चीन९काठमाडौं रेलमार्ग निर्माणलगायतका विषयमा छलफल हुने एजेण्डा परराष्ट्रले तय गरेको छ ।