छठ पर्वको तेस्रो दिन, सूर्यको उपासना गरी मनाइँदै

16

(काठमाडौं) – छठ पर्वको तेस्रो दिन आज, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आइएको बहुसाँस्कृतिक, बहुधार्मिक एवं बहुजातिय महापर्व छठको शनिबार मुख्य पुजाको दिन हो ।

उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोकपर्वका लागि तराई–मधेस लगायत मुलुकभरका नदी किनार, खोला छेउ, पोखरीको डिल र नहर वरपरलाई झिलिमिली पारिएको छ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।

छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।

परिवारजन एवं छरछिमेकको सहयोगमा ब्रतालुले शनिबार बिहानदेखि गहुँको पिठोको ठेकुवा, चामलको पिठोको भुसुवा, खाजा भनिने एक प्रकारको मिठाइ एवं पुरी लगायतका सामग्री तयार पार्छन् । अपरान्ह् घरको आँगन वा वरन्डालाई लिपेर चोख्याउँछन् ।

घाट भनिने जलासय किनार तिर लाग्नु अघि बाँसको नांग्लो र ढाकीमा पुजा सामग्री मिलाएर राख्छन् । एक पटक घरमै पूजा गरेपछि सामग्री सहितको नांग्लोलाई पुनः ढाकीमा सजाएर राख्छन् । प्रसाद झर्न नदिनलाई ढाकीलाई सफा कपडाले मजाले बाँधिन्छ ।

ढाकीको अघिल्तिर निभ्न नदिने गरी सावधानीका साथ बलिरहेको दियो राखिन्छ । यसपछि नयाँ पहिरनमा ठाँटिएर ब्रतालु सहित सारा परिवार पूजा सामग्री बोकेर छठको बाजागाजाका साथ लोकगीत गाउँदै घाटतिर लाग्छन् । प्रसादले भरिएको ढाकी भने सबैभन्दा जिम्मेवार एवं बलियालाई बोक्न लगाउँछन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

तेस्रो दिन शनिबार साँझ एवं चौंथो दिन आइतबार बिहान जलाशय किनारमा सम्पूर्ण पूजा सामग्री सहित पुगेर गीत गाउँदै ब्रतालु एवं परिवारजनले सूर्यलाई अर्घ्य दिन्छन् । स्थानीय भाषामा यि दुई धार्मिक विधिलाई क्रमशः सझिया घाट र भोरका घाट भनेर बुझिन्छ ।

बिहानीको अर्घ्य लगतै छठ माताको महिमाको कथा वाचन सहित चार दिने धार्मिक अनुष्ठान विधिवत सकिन्छ । योलगतै अटल सौभाग्यको कामना गर्दै महिला ब्रतालुले एक अर्काको निधारमा रातो टीका पनि लगाइदिन्छन् ।

समाचार वर्गहरू