काठमाडौं – बिहीबार साँझ पटक-पटक बिजुली आउने-जाने भइरहँदा उपभोक्ताहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया दिन थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुरको भारतखण्डमा समस्या आउँदा देशभर बिजुली आउने-जाने भइरहेको जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले काठमाडौंमा मात्र नभई मध्य र पूर्वी नेपालभर बिजुली आउने जाने भइरहेको जनाएको छ ।
‘भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर–मुजफ्फरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा लाइने जाने आउने गरेको हो, काम हुँदैछ,’ सचिवालयले भनेको छ ।
प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले एकै पटक सिस्टम बन्द भएकाले बिजुली आपूर्तिमा समस्या भइरहेकाे बताए । नेपालको पूर्व र पश्चिम दुवैतर्फबाट विद्युत् आपूर्ती गर्न काम भइरहेकाले केहि समय लाग्ने उनले जनाए ।
‘छिट्टै समस्या समाधान हुन्छ, एक ठाउँको मात्र नभई काठमाडौंलगायत मध्य र पूर्वी नेपालभरिकै समस्या हो । एकै पटक बिजुली अवरुद्ध भए पनि सबै ठाउँमा एकै पटक सूचारु हुन केहि समय लाग्न सक्छ ।’