काठमाडौं – जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक महिलालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३८ वर्षीया मनुमाया थापालाई पक्राउ गरेको हो ।
भिमाद नगरपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१ बगर बस्ने ३८ वर्षीया रुपासरा रानालाई विदेश पठाइदिन्छु भन्दै मनुमायाले रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
रुपासरालाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी विश्वास दिलाई विभिन्न बैंकहरुको खातामा पैसा जम्मा गर्न लगाइ ७९ लाख ९७ हजार ९९९ रुपैयाँ निकालिसकेको अवस्थामा उनलाई बुधबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।
प्रहरीले निजबाट ४ लाख ८० हजार रुपैयाँ र विभिन्न ७ वटा बैंकको चेकबुकहरु बरामद गरेको छ । उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।