काठमाडौं – जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जापान पठाइदिने भन्दै करिब तीन करोड ठगी गरेका हुन् ।
नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी पुतलीसडकमा नियोनी एजुकेशन कन्सल्टेन्सी दर्ता गरी नारायण बहादुर राई नाममा चलाउँदै आएका उनीहरूले जापान पठाउने भनी चार लाखदेखि सात लाख रुपैयाँसम्म उठाउने गरेको प्रहरीले जनाएको छ ।
ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको हराएको नागरिकताको दुरुपयोग गरी उनको नाममा बैङ्क खोली रकम जम्मा गर्ने गरेका थिए । तीन वर्षदेखि पठाओ चलाउँदै आएका नागरिकता धनी नारायणबहादुर राईले आफ्नो नागरिकता १५/१६ वर्ष अगाडि हराएको प्रहरीमा बयान दिएका छन् ।
प्रहरीका अनुसार उनीहरूले एक एजुकेशन कन्सल्टेन्सी दर्ता गरेर जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएका थिए ।