बुटवल । पश्चिम नवलपरासी मा जिउँदो व्यक्तिलाई मृत घोषणा गरी मृत्यु दर्ता गराएको गम्भीर आरोपमा वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रभुनाथ अहिर (वडाध्यक्ष), सञ्जयकुमार चौधरी (वडा सचिव) सहित अन्य दुई जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी का अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
यसअघि घटनाका मुख्य आरोपित तारिख मियाँ अन्सारी लाई प्रहरीले पक्राउ गरिसकेको थियो। अनुसन्धानका क्रममा उनले आफ्नै पिताको मृत्यु भएको भनी गलत विवरण पेश गर्दै वडा नं. ५ का अर्का ६६ वर्षीय आफन्तको नाममा गत वर्ष मृत्यु दर्ता गराएको खुलासा भएको छ। तर, उनका पिताको वास्तविक मृत्यु भने २०६० सालमै भइसकेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
घटनाको वास्तविकता खुलेपछि मृत्यु दर्तामा नाम समावेश गरिएका वृद्धका छोराले गत वर्ष चैतमा उजुरी दिएपछि मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको हो।
यस प्रकरणमा मृत्यु दर्ताको मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने अन्य ७ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारी ले जनाएको छ।
प्रहरीका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ। अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने तयारी गरिएको प्रहरीले जनाएको छ।
यो घटनाले स्थानीय तहमा हुने कागजी प्रक्रिया र दर्ता प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। रासस