एजेन्सी – श्रीलंकाविरुद्धको तीन खेलको टी ट्वान्टी क्रिकेट सिरिज न्यूजिल्याण्डले एक खेल अगावै जितेको छ । मंगलबार राति भएको दोस्रो खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले सिरिज २ – ० ले जितेको हो । श्रीलंकाले दिएको १ सय ६२ रनको लक्ष्य न्यूजिल्याण्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।
न्यूजिल्याण्डको जितमा कोलिन डी ग्राण्डहोम र टम ब्रुसले अर्धशतकीय इनिङ्स खेले । ग्राण्डहोमले ५९ तथा ब्रुसले ५३ रनको योगदान दिए ।
श्रीलंकाका अकिला धनन्जयले न्यूजिल्याण्डको ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । श्रीलंकाका लागि निरोशन डिक्वेलाले सर्वाधिक ३९ रन बनाए । यस्तै, अभिस्का फर्नान्डोले ३७ रनको योगदान दिए ।
त्यस्तै, कुशल मेन्डीसले २६ तथा सेहन जयसूर्याले २० रन बनाए । न्यूजिल्याण्डका लागि सेथ रेन्सले ३ विकेट लिए । टिम साउथी र स्कोटले २/२ विकेट आफ्नो नाममा लेखाए ।
जितसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले २ ० को अग्रता समेत बनाएको छ । यसअघि पहिलो खेलमा श्रीलंकालाई न्यूजिल्याण्डले ५ विकेटले हराएको थियो ।