काठमाडौं – पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको तारा एयरको ट्वीन ९एनएईटी विमान आइतबार बिहान दुर्घटना भएको छ ।
चालक दलका ३ र १९ यात्रुसहित उडेको विमान कहाँ दुर्घटना परेको हो भनी यकिन हुन सकेको छैन । खोजी कार्यमा चौतर्फी रूपमा शक्ति प्रयोग भए पनि सोमबार रातिसम्म विमान भेटाउन सकिएको छैन ।
मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरीकोटमाथिको मानापाथी हिमाल फेदीमा विमान फेला परेको सूचना उद्धारमा खटिएको नेपाली सेनाको टोलीलाई दिए पनि यसबारे पुष्टि हुन सकेको छैन ।
आइतबार बिहान ९ः५५ बजे पोखरा विमानस्थलबाट उडेको विमान केही समयमै सम्पर्कविहीन भएको थियो । १०ः१७ मा अवतरण गर्ने भनिएकोमा सो विमान १० ः११ पछि सम्पर्कविहीन भएको हो ।
जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले बिहान १०ः११ सम्पर्कमा रहे पनि त्यसपछि सम्पर्क टुटेको जनाए । विमानमा चालक दलका तीन सदस्यसहित २२ जना थिए ।
विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सहपाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा थिए । यात्रुका रूपमा वसन्त लामा (पाइलट), वैसवी बान्देकर, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मैकी ग्रिन ग्राफ, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोकुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र युवे विलनर हुन् ।
जसमा एयर होस्टेजसहित नौ जना महिला थिए । १९ यात्रुमध्ये १३ नेपाली, चार भारतीय र दुई जना जर्मन नागरिक थिए ।