दल–दलबीच के फरक छन् नयाँ दल ?

67

काठमाडौं — २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभा चुनावमा पहिलो पटक सहभागी हुन लागेका २६ नयाँ दलमध्ये धेरैजसोले संगठन विस्तारसँगै चुनावी गठबन्धन र सहकार्यको रणनीति लिएका छन् । नयाँ दल गठन गरेर चुनावी तयारी गर्नेमा समाजका विभिन्न क्षेत्रमा स्थापित व्यक्तिदेखि जेन–जी आन्दोलनमा संलग्न अगुवासम्म रहेका छन् ।

पुराना दलमध्ये कांग्रेस र एमाले महाधिवेशनबाट नयाँ नेतृत्व ल्याउने वा पुरानै नेतृत्वलाई पुनर्जीवन दिने तयारीमा छन् भने माओवादी र एकीकृत समाजवादीलगायत मिलेर बनेको नेकपाले प्रदेशमा चुनावलक्षित एकता सभा गरिरहेका छन् । तर, नयाँ दलहरू कोही चुनावी गठबन्धन र सहकार्यको कसरतमा छन् भने कोही जनतामा गएर संगठन विस्तारका लागि एजेन्डा बाँडिरहेका छन् ।

अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास गरी तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी (उनेपा) दर्ता भएको छ । अनुपकुमार उपाध्याय अध्यक्ष रहेको यो दलले संगठन निर्माणसँगै चुनावी तयारी थालेको छ । मन्त्रीबाट हटेपछि उनेपाको अध्यक्ष बन्ने घिसिङ स्वयं र हालका अध्यक्ष उपाध्यायले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । उपाध्याय पूर्वऊर्जा सचिव हुन् । यो दलमा इन्जिनियरिङ क्षेत्रका व्यक्ति र पूर्वकर्मचारीको बाहुल्यता छ । वातावरणविद् सागर ढकाल, डा. अभिषेकराज सिंहलगायतका अभियन्ता पनि यसमा समावेश छन् ।

जेन–जी आन्दोलनका घाइते राजेश प्रतेलको संयोजकत्वमा राष्ट्रिय परिवर्तन पार्टी दर्ता भएको छ । उनले जेन–जी आन्दोलनका क्रममा दायाँ खुट्टा गुमाएका छन् । यो दलमा २१ केन्द्रीय सदस्य छन् । सबै जाति, लिंग, क्षेत्र र समुदायको समावेशी दल बनाउने संयोजक पोर्तेलले बताएका छन् । चुनावमा भाग लिएर जेन–जीको आवाज केन्द्रीय राजनीतिमा स्थापित गराउने उनले बताए । यो दलले हर्क साम्पाङको श्रम संस्कृति पार्टीलगायतसँग सहकार्यको प्रयास गरिरहेको छ । अन्य दलसँग पनि चुनावी सहकार्य गर्ने रणनीति रहेको पोर्तेलले बताए । ‘गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता हाम्रो दलको सिद्धान्त हो,’ उनले भने ।

अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा जनादेश पार्टी गठन भएको छ । सर्वोच्च अदालत बार एसोसिएसनका सचिवसमेत रहेका कर्णको दलमा अभिनेत्री तथा सञ्चार उद्यमी एलिजा गौतम, अधिवक्ता जस्मिन ओझालगायत छन् । ‘एलजीबीटीआईक्यू कम्युनिटी’का लक्ष्मी घलान, जेन–जी आन्दोलनका घाइते मदन कार्की, पोखराकी जेन–जी नेता विप्लवी न्यौपानेलगायत पनि यस दलमा आबद्ध छन् ।

यो दलमा चुनावमा कसरी जाने भन्ने विषयमा छलफल चलिरहेको छ । अन्य दलसँग पनि गठबन्धन गरेर जानेबारे परामर्श भइरहेको जनादेश पार्टीकी संस्थापक नेता ओझाले बताइन् । ‘हामी सकेसम्म अलायन्स निर्माण गरेर चुनावमा जाने विषयमा छलफलमा छौं, विभिन्न दलसँग संवाद चलिरहेको छ,’ ओझाले भनिन्, ‘आफैं एक्लै चुनावमा जानुपर्ने अवस्थाको पनि तयारी गरिरहेका छौं । संगठन विस्तारको काम भइरहेको छ । पहिलो केन्द्रीय समिति बैठकले चुनावी एजेन्डा र पार्टीको सिद्धान्तबारे छलफल गरेको छ ।’

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ दल गठन गरेका छन्, समुन्नत नेपाल पार्टी । प्रहरी सेवाबाट बाहिरिएपछि खनाल एमाले प्रवेश गरेका थिए । उनले एमालेबाट दुई पटक चुनाव लडे तर जित्न सकेनन् । एमालेबाट २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं–६ बाट पराजित भएका खनाल वैशाख २०८० मा भएको उपचुनावमा तनहुँबाट पनि पराजित बने ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग्गिएका नेताहरूले सर्वोदय पार्टी खोलेका छन् । दीपककुमार साहको अध्यक्षतामा यो दल गठन गरिएको हो । साह जनमत पार्टीका उपाध्यक्ष तथा संस्थापक थिए । यो दलमा जनमत पार्टीमा कोषाध्यक्ष रहेका सुरेन्द्रनारायण यादव, विदेश विभाग प्रमुख रहेका शम्भुनाथ साहलगायत छन् । ‘जुन उद्देश्यले जनमत पार्टी खोलेका थियौं, त्यसबाट नेतृत्व विचलित भएपछि नयाँ पार्टी गठन गरेका हौं, त्यो पार्टी नेतृत्व व्यक्तिवादमा लागेकाले हामी अर्को बाटो लाग्यौं,’ अध्यक्ष साहले भने, ‘एक्लै भन्दा पनि अरू दलसँग सहकार्य गरेर जाने तयारी भइरहेको छ । कोसँग सहकार्य हुन्छ, त्यो टुंगो लागिसकेको छैन ।’

२०७९ को चुनावमा मोरङ–५ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित योगेन्द्र मण्डलले पनि नयाँ दल गठन गरेका छन्, राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल । उनी प्रतिनिधिसभामा निर्वाचित भएपछि एमालेमा प्रवेश गरेका थिए । तर, जेन–जी आन्दोलनपछि संसद् विघटन भयो र उनी एमालेतिर नलागी नयाँ पार्टी गठनतिर लागेका हुन् ।

यस्तै, बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतको सक्रियतामा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) गठन भएको छ । यो दलको अध्यक्ष होटल व्यवसायी दिनेश प्रसाईं हुन् । पदाधिकारीले चुनाव नलड्ने घोषणा गरेको यो दलका हर्ताकर्ता बस्नेत भने केन्द्रीय सदस्यमा मात्र बसेका छन् । महासचिवमा व्यवसायी पीयूष कायस्थ छन् । उनी कृषि विज्ञ हुन् भने आरजु राइस उद्योगका एक साझेदार हुन् । पाँच महासचिवमा दुई महिला छन् ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङ पनि पार्टी गठन गरेर चुनावी अभियानमा होमिएका छन् । साम्पाङको श्रम संस्कृति पार्टीको उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ छन् । केन्द्रीय समितिमा अधिकांश व्यक्ति जनजाति समुदायका छन् ।

माओवादी र एकीकृत समाजवादीलगायत वाम घटक एकता भएर नेकपा गठन हुँदा माओवादीका जनार्दन शर्मा र एकीकृत समाजवादीका घनश्याम भुसाल एकतामा सहभागी भएनन् । शर्मा र भुसालले केही समय सँगै मिलेर जानेबारे छलफल गरे पनि अहिले आ–आफ्नो बाटो लागेका छन् ।

शर्माले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपा परित्याग गरेका सन्तोष परियार लगायतसँग मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) दर्ता गरेका छन् । यो पार्टीको नेतृत्वमा शर्मा पक्षका सुदन किराती, राम कार्कीलगायत सहभागी छन् । प्रलोपाको कार्यकारी भूमिकामा भने शर्मा छैनन् । प्रलोपामा पाँच सदस्यीय अध्यक्ष परिषद् गठन गरिएको छ । जसमा ओजस्वी भट्टराई, दुर्गा सोब, सन्तोष परियार, सुदन किराती, अशोक जयसवाल छन् । ‘अहिले हामी संगठन निर्माण र विस्तारमा छौं, आधारभूत तहमा संगठन बनाउने कुरा छ । संगठन निर्माणको पफर्मेसन बनाएर जिल्ला र पालिकासम्म जान्छौं,’ शर्माले भने ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल भने अहिले नेकपा (संयुक्त) को नेतृत्वमा पुगेका छन् । चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) को कार्यवाहक अध्यक्ष भुसाललाई बनाइएको छ । चुनाव चिह्न पनि संयुक्तकै लिने निर्णय भइसकेको छ । कान्तिपुर

समाचार वर्गहरू