दसैंमा नयाँ होइन, सुकिला नोट साट्न पाइने

46

काठमाडौं – नेपाल राष्ट्र बैंकले विगतका वर्षमा जस्तो यस वर्ष दसैं, तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ ।

गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको हो ।

राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ ।

दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जाने र बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्ने गरेको राष्ट्रबैंकको तथ्याङ्क छ ।

एकातिर हरेक वर्ष नयाँ नोटको माग बढिरहेको र अर्कातिर सोही दरका प्रयोगयोग्य नोट राष्ट्र बैंकको गोदाममा थन्किएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिमाणमा नोट थुप्रिँदै गएको राष्ट्र बैंकले बताएको छ ।

समाचार वर्गहरू