दाङमा बढी धान उत्पादन गर्ने कृषकले पुरस्कार पाउने

121

काठमाडौं – दाङको राप्ती गाउँपालिकाले बढी धान उत्पादन गर्नेलाई कृषकलाई पुरस्कृत गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१–०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई प्रोत्साहनस्वरुप  पुरस्कृत गर्न लागीएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

विष्ठका अनुसार धान उत्पादन वृद्धि गर्ने उद्देश्यले यस्तो योजना अगाडि सारिएको र यसरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार, रु १० हजार र रु आठ हजार पुरस्कार प्रदान गरिने छ ।

“कार्यक्रम कार्यान्वयका लागि बुधबार नै मापदण्डबमोजिम पुरस्कार प्राप्तिका लागि निवेदन दिन कृषकलाई आह्वानसमेत गरिसकेका छौँ । यसरी पन्ध्र दिनभित्र आवेदन दिइ मापदण्डबमोजिम छनोट भएकालाई पुरस्कृत गर्छौं”, अध्यक्ष विष्टले भने ।

कृषि शाखा प्रमुख बरसाती गडरियाका अनुसार पुरस्कृत हुनका लागि कम्तीमा पाँच कठ्ठामा धानखेती गरेको हुनुपर्ने, खेती गरेको कित्ता नम्बर खुल्ने गरी १० वर्गमिटर नमूना लिनका लागि राख्नुपर्ने, काट्ने, दाउने तथा झार्ने समयमा गाउँपालिकाको कृषि विकास शाखालाई खबर गरी शाखाको रोहबरमा धानको तौल लिइने छ ।

आवेदनका लागि तोकिए बमोजिमको निवेदन, आवश्यक विवरण, आधिकारीक व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र जग्गाको लालपूर्जा वा भाडाको जग्गा भए सम्झौता पत्रको प्रतिलिपि र विवाह दर्ताको हकमा वडाको सिफारिस आवश्यक पर्ने गाउँपालीकाले जनाएको छ ।

समाचार वर्गहरू