काठमाडौं – नेतृत्वको चरित्र र कार्यशैली गलत भएको भन्दै दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका ६६ नेता–कार्यकर्ताले पार्टी त्यागको घोषणा गरेका छन् । उनीहरूले रिपोटर्स क्लब तुलसीपुरमा पत्रकार सम्मलन गरी पार्टी त्यागको घोषणा गरेका हुन् ।
पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत विभिन्न क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी त्याग गरेका हुन् ।
लामिछाने पुराना नेताभन्दा बढी अनैतिक र भ्रष्ट देखिएपछि पार्टीमा रहन नसकेको क्षेत्रीय सदस्य विजय केसीले बताए । ‘दर्जनौं काण्डमा मुछिएका लामिछाने नेतृत्वमा रहेको पार्टीले देशमा सुधार गर्छ भन्ने बिश्वास हामीलाई लागेन,’ उनले भने, ‘त्यही भएर हामी पार्टी छोड्ने निर्णयमा पुगेका हौं । हामीले स्वतन्त्र अभियान भनेर नयाँ कामको सुरुवात गरेका छौं ।’
सबै पार्टीका नेताहरूको कार्यशैली देखिसकेकाले छुट्टै स्वतन्त्र अभियानमा जोडिन खोजेको उनले बताए । ‘हामी घरपरिवार र समाजको गाली खाँदै लामिछानेको अन्धभक्त भएर पछि लाग्यौं । हामीले धेरै नै आशा गरेका थियौं तर उनी अन्तत फिरंगी प्रमाणित भए,’ केसीले भने, ‘उनीबाट केही आशा गर्न सकिएन । एकपछि अर्को गल्ती गर्दै गए । पार्टी सरकारमा जाने मात्रै काम भयो । पुराना पार्टीका गल्ती कमजोरी सुधार्न भूमिका खेल्नुपर्नेमा आफैं गल्तीहरू बढाउन थाले ।’
‘पार्टीमा काम गर्ने रहरका साथ निर्वाचन लडेर जिम्मेवारी सम्हालेको थिएँ तर जनतालाई झुक्याउने र रुमल्याउने काम मात्रै भयो,’ उनले भने, ‘पार्टी दुईपटक सरकारमा गएर पनि केही देखाउने काम हुन सकेन । यसले हामीलाई पार्टीमा बस्ने नैतिकता भएन ।’
स्वतन्त्र पार्टीले भने साउन १८ गते एक पत्र लेखी क्षेत्रीय सभापति केसी र स्वर्णकुमार चित्रकारलाई कारबाही गरेको जानकारी दिएको छ । पटकपटक पार्टी अनुशासन उल्लंघन गरेका कारण केन्द्रीय अनुशासन आयोगको सिफारिसमा साउन १० मा बसेको केन्द्रीय समितिको बैठकले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ । केन्द्रीय कार्यालय सचिव शुभराज शिल्पकारले हस्ताक्षर गरेको पत्र लुम्बिनी प्रदेश समिति प्रमुख देवराज पाठकलाई सम्बोधन गरी लेखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश समिति प्रमुख पाठकले पार्टीले कारबाही गरेपछि पार्टी त्यागको हल्ला गरेको प्रतिक्रिया दिए । ‘पार्टी अनुशासन विपरीत काम गरेकाले पार्टीले कारबाही गरेको हो,’ उनले भने, ‘पार्टीले निष्कासन गरिसकेपछि पार्टी त्याग भन्नुको केही अर्थ छैन ।’ अनुशासनमा नरहने नेता–कार्यकर्तालाई पार्टीले बचाउन नसक्ने उनले बताए ।