काठमाडौं – पर्सामा झारफुक एवं धामी झाँक्रीको काम छ भनी बोलाएर दुई जनाको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार बाराको कलैया उपमहानगरपालिका–५ बस्ने लक्ष्मणकुमार प्रजापति, पर्साको जगरनाथपुर गाउँपालिका–५ बस्ने सन्तोषप्रसाद कुम्हार र सोही स्थानका महादेव महतो नुनिया छन् ।
जेठ १९ गते पर्साको जगरनाथपुर गाउँपालिका–१ ओरिया खोलाको किनारमा नेपाल–भारत सिमानाको दशगजाभन्दा ८० मिटर नेपालको सरहदभित्र खाली जग्गामा गाडिएको अवस्थामा बाराको कलैया उपमहानगरपालिका–६ का ६० वर्षीय रामएकबाल पण्डित कुम्हार र अर्को शव बाराकै आदर्श कोतवाल गाउँपालिका–७ घर भई कलैयामा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारकोे शव भेटिएको थियो ।
पर्साका प्रहरी प्रबक्ता डीएसपी दिपक भारतीका अनुसार घटनाका मुख्य योजनाकार प्रजापतिले मृतक दुबै जनालाई झारफुक एवं धामी झाँक्रीको काम रहेको भनी कलैयाबाट बस चढाई वीरगञ्जको प्रतिमा चोकमा ओर्लेका थिए ।
त्यहाँबाट पर्साकै बिन्दबासिनी चोकमा पुगेर पक्राउ परेका दुबै मृतकलाई मोटरसाइकलमा राखेर हुलाकी सडकबाट लखनपुर पुर्याई नहरको बाटो हुँदै घटनास्थल जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वास्थित ओरिया खोलामा लगेको अनुसन्धानबाट खुलेको छ ।
त्यहाँ प्रजापतिले आठ लाख रुपैयाँ लिएर हत्याको लागि सुपारी पाएका दुई जना आएर तीन जना मिलेर मृतककै साथमा रहेको गम्छाले घाँटी बाँधेर हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी भारतीले जानकारी दिए ।
हत्यापश्चात् तीनै जना मिलेर शबवलाई ओरीया खोला तटमा गाडेका थिए । सोही हत्यामा संलग्न रहेका मुख्य योजनाकार दुई जनालाई वीरगञ्ज महानगरपालिका–१५ र एक जनालाई जगरनाथपुर गाउँपालिकाबाटै पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
उनीहरुमाथि ज्यानसम्बन्धी कसुरमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । घटनामा संलग्न रहेका अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।