काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा रहे पनि अपमानित भएर बसिरहेको भन्दै दिक्दारी पोखेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार साँझ माधव नेपाल, महन्थ ठाकुर र उपेन्द्र यादवसहित विपक्षी गठबन्धनका शीर्ष नेतासँग नेपालले दिक्दारी पोखेका हुन् ।
प्रमुख सचेतक मेटमणि चौधरीसहित देउवा निवास पुगेका नेपालले जसपा विभाजनपछि झन् अन्योल थपिएको बताएका थिए ।
बुधबारको छलफलमा मधेश सरकारमा जसपाका मुख्यमन्त्री सरोज यादवलाई जोगाउनेबारे छलफल भएको छ । त्यस्तै सुदूरपश्चिममा नेकपा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि एमाले सरकारमा सहभागी नभएको सन्दर्भमा कांग्रेसको सहयोग आवश्यक पर्नेबारे समेत छलफल भएको छ ।
माधव नेपाल सत्तापक्षमा रहे पनि आफूलाई रमिते बनाइएको र कुनै छलफल तथा बैठकमा नबोलाइएकोमा उनले अपमानित महसुस गरेका छन् ।
देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा माधव नेपालको उपस्थिति त्यसैको संकेत भएको नेकपा एसका नेताहरुले बताएका छन् ।
बुढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनको बारेमा छलफल भएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । मधेसमा एमालेका २३, कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।
एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमत छ । कांग्रेस, लाेसपा र एकीकृत समाजवादीले समर्थन गरे यादव सरकार जोगिने अवस्था छ ।