धरहरा पुनर्निर्माण सन्तोषजनक : सीईओ ज्ञवाली

20

(काठमाडौं) – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणको काम सन्तोषजनक रहेको बताएका छन् ।

निर्माणाधीन धरहराको मंगलबार स्थलगत अवलोकन गर्दै सीईओ ज्ञवालीले अहिलेकै अनुरुप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताए ।

उनले उत्साहपूर्वक काम गर्न पनि निर्देशन दिए । प्राधिकरणले भत्किएको धरहरालाई जस्ताको तस्तै राखेर नजिकै नयाँ धरहरा निर्माण गरिरहेको हो । पुरानो धरहरालाई पनि म्युजियमको रुपमा सीसाले बेरेर राखिने उनले बताए ।

भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनर्निर्माण सुरु गरेको छ ।

निर्माणको लागि तीन अर्ब ४८ करोड रुपैयाँ लाग्ने प्राधिकरणले जनाएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका सो ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुई वटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ ।

४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसल लगायत रहने प्राधिकरणले जनाएको छ ।

एघार तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । धरहरा परिसरमा पार्किङ सहित रेष्टुराँ, बगैँचा, पुस्तकालय लगायतको सुविधा हुनेछन् ।

गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू