नगरकोटको महिमा अधिक रहेको छ – राष्ट्रपति पौडेल

61

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।

नगरकोटको बतासे डाँडामा आज आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने – “पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हुन् । आर्थिक वृद्धिका लागि यी क्षेत्रमा विद्यमान समस्या समाधान गरेर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवद्र्धन गरी औद्योगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरूरी छ ।”

राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेका लागि नगरकोट नजिकको रोजाइस्थल भएको उल्लेख गर्दै यो क्षेत्र संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि गौरव भएको उल्लेख गरे ।

“जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान दिएको छ । यसलाई अझै विकसित, आधुनिक र सुविधा सम्पन्न बनाउन स्थानीय बासिन्दा, उद्यमी, पर्यटन व्यवसायीसहित सङ्घ, प्रदेश र विशेषत यहाँका चारवटै नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु”, उनले भने ।

राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्त एवं सुन्दर काठमाडौँ उपत्यका अवलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गरे ।

“यसको निकटमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसङ्ग जोडिएको महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक भङ्गेरी र पुतली दरबार, शङ्खरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर एवं साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको छ”, उनले भने ।

राष्ट्रपति पौडेलले नयाँ वष–२०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले सबैलाई प्रेरणा देओस् भन्ने कामना गरे ।

समाचार वर्गहरू