काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले बिहीबार सुनकोशी गाउँपालिका –१ मा एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका छन् ।
अस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले देशभरको अस्पतालको स्तरोन्नति गर्ने र पैसाको अभावमा उपचारबिना कोहि नेपाली नागरिकले मृत्युवरण गर्न नपर्ने बताए ।
“गरिब विपन्नले उपचार नपाएर मर्नुपर्ने अवस्था हुँदैन, यसको जिम्मा सरकारले लिनुपर्छ”, उनले भने, “स्वास्थ्य मन्त्रालयमा कुनैपनि बिरामीलाई उपचार खर्च दिनसक्ने कोष छैन । त्यसकारण व्यक्तिगत सहयोग गर्नुपर्ने अवस्था छ । यस्तो कोषको व्यवस्था गर्न सरकारलाई प्रस्ताव राखेको छु ।”
सुनकोशी गापा १ ठोकर्पामा स्वास्थ्य शिविरबाट सुरु भएको अभियानबाट अहिले एकएक पाइला ठोकर्पा आधारभूत अस्पताल निर्माण भएको छ । स्विडेन नेपाल सोसाइटीको आर्थिक सहयोग तथा बिल्ड अफ नेपालको प्राविधिक सहयोगमा निर्माण सुरु भएको संरचनाअन्तर्गत विदेशी दातृ निकायको ३५ लाख लागतमा ब्लक ए को पहिलो तल्लाको भौतिक निर्माण सम्पन्न भएको उक्त अस्पतालका अध्यक्ष नेत्र कार्कीले जानकारी दिए ।
तीन करोड ८३ लाख रुपियाँमा निर्माणाधीन अस्पताल सुनकोसी गापा र जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा निर्माण भएको उनको भनाई थियो । उक्त अस्पतालमा दैनिक ४५ सिलिण्डर अक्सिजन उत्पादन हुनेअक्सिजन प्लान्ट पनि सञ्चालनमा रहेको अध्यक्ष कार्कीले बताए ।