नागरिकता विधेयकका विवादास्पद प्रावधान नसच्याइए संसद् अवरोध गर्ने कांग्रेसकोचेतावनी

48

(काठमाडौं) – कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयक, नेपाल विशेष सेवा (गुप्तचर) को गठन र सञ्चालनसम्बन्धी विधेयक तथा नागरिकता विधेयकका विवादास्पद प्रावधान नसच्याइए संसद् अवरोध गर्ने चेतावनी दिएको छ ।

सत्तारुढ दल नेकपाले बुधबारै अख्तियारसम्बन्धी विधेयक अघि नबढाउने निर्णय गरिसकेको छ ।

कांग्रेसको बुधबार बसेको पदाधिकारी बैठकमा नेताहरूले पछिल्ला विधेयकहरुमा सरकारको गलत मनसाय रहेको ठहर गरेका थिए । यी सबै विधेयकका पृष्ठभूमिमा सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शैलीमा अघि बढ्न खोजेको भन्दै कांग्रेस नेताहरूले सदन र सडकबाट विरोध गर्नुपर्ने भनाइमा एकमत देखिएका छन् ।

संदिग्ध व्यक्तिको फोन ट्यापिङ गर्न पाउने गरी सरकारले प्रस्ताव गरेको गुप्तचरी विधेयकका केही प्रावधान अन्त्यन्त खतरनाक रहेको र संविधानसम्मत नभएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । गुप्तचरी कानुन संशोधनका लागि ल्याइएको विधेयक पनि संशोधनबिना अघि बढाउन नदिने रणनीति कांग्रेसले बनाएको छ ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारी, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सांसद गगन थापालगायतले सरकारले अधिनायकवादको शैलीमा अघि बढ्न खोजेको भन्दै त्यसको प्रतिरोध सदन र सडकबाट गर्नुपर्ने बताएका थिए । पौडेलले सिंगो पार्टी एकताबद्ध बनाएर सरकारले खडा गरेको अवरोध र चुनौतीहरूको सामना गर्नुपर्ने धारणा राखेका थिए ।

‘अख्तियार, गुप्तचरी, निजामती र नागरिकतालगायत विधेयकले सरकार निरंकुश र अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको देखिन्छ । अधिनायकवादलाई रोक्न सडक र सदनबाटै आन्दोलन गर्नुपर्छ भन्ने पदाधिकारी बैठकको निष्कर्ष हो,’ कांग्रेस उपसभापति निधिले भने । नागरिकता विधेयकमा पनि कांग्रेस पूर्वअडानमै रहने भएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बहुमतबाट अघि बढेको विधेयकका विरुद्ध कांग्रेस छ । उसले संविधान र नागरिकता ऐन, २०६३ अनुसार वैवाहिक अंगीकृतको प्रावधान हटाउन नहुने अडान संसद्मा पनि राख्ने भएको छ । कान्तिपुर बाट ।

समाचार वर्गहरू