(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगञ्जका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग घूस लिएको आरोपमा सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
पासवालले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घूस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी उक्त रकम घुस लिएको तथ्य निर्विवाद पुष्टि भएको आयोगले आरोप लगाएको छ ।
यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । चौधरीले बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।
यसैगरी आयोगले हिजै सवडिभिजन कार्यालय सैनामैना रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध पनि आरोपपत्र दायर गरेको छ । घर निर्माणका लागि काठ उपलब्ध गराउन ‘भेरिफिकेसन’ गराएबापत सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घूस लिएको आयोगको जनाएको छ ।