नेकपाकाे सचिवालय बैठक धुम्बाराहीमा सुरू

13

(काठमाडौं) – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बसिरहेकाे छ । पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बिहान ९ बजेपछि बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

दुई अध्यक्षको जिम्मेवारी तय भएपछि दाहालको अध्यक्षतामा पहिलो पटक बैठक बसेको हो ।  यसअघि मंसिर ४ गते बसेको नेकपा सचिवालय बैठकको कार्यविभाजन अनुसार ‘कार्यकारी’ हैसियत सहित दाहालले  पार्टीको बैठक बोलाएका हुन् ।

पार्टीका सामु थुप्रै महत्वका एजेण्डाहरु रहे पनि बैठक नबोलाएको भन्दै पार्टीभित्र दाहालको आलोचना सुरु भएलगत्तै उनले  प्रधानमन्त्री ओलीसँगको परामर्शमा बैठक सुरु गरेका हुन् ।

विधानअनुसार तीन-तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एक वर्षदेखि बोलाएका छैनन् ।

धुम्बाराहीमा जारी बैठकले स्थायी कमिटी बैठकको मिति र एजेण्डाबारे छलफल हुनेछ । बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, सीमा मुद्दा र उपनिर्वाचनको समिक्षालगायतका एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकअगाडि अध्यक्ष प्रचण्डले स्थायी समितिका नेताहरुसँग परामर्श गरिसकेका छन् । नियमित बैठककै रूपमा बोलाइएको बैठकमा समसामयिक विषयमा छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए ।
बुधबारको बैठकमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना, उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगायतका एजेण्डामा छलफल हुने भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको जिम्मेवारीलाई मध्यनजर गर्दै अध्यक्ष दाहालले मंसिर २४ गतेलाई तय भएको आफ्नो चीन भ्रमण पनि स्थगित गरेका थिए ।

बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी छन् ।

समाचार वर्गहरू