नेता पौडेललाई भेट्न सभापति देउवा बोहराटारमा

22

(काठमाडौं) – पार्टीमा देखिएको विवादबारे छलफल गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास जाँदैछन् । पार्टी भित्रको पछिल्लो परिस्थितिका बारेमा छलफल गर्न सभापति देउवा, पौडेल निवास बोहोराटार जान लागेका हुन् ।

सभापति देउवा र पौडेलबीच आज बिहान ११ बजे भेटघाट हुने कार्यक्रम तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका र विभागको संख्या बढाउने प्रस्ताव खारेजीको माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गत बिहीबारको केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए ।

विभागको संख्या थप्ने, भ्रातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट छ । सभापति देउवाले २८ विभागलाई बढाएर ४१ बनाउने प्रस्ताव गत बिहीबार बसेको केन्द्रीय समितिमा पेश गरेका छन् ।

भोलि आइतबार बस्ने केन्द्रीय बैठकमा ती एजेन्डाबारे छलफल हुनेछ । भ्रातृ संगठन तरूण दलको म्याद छ महिना थप गर्ने र नेविसंघलाई नेतृत्व दिने एजेन्डामा पनि पौडेल पक्षले चासो राखेको छ ।

समाचार वर्गहरू