‘नेतृत्वले गरेको गल्ती सहेर बस्न सकिन्न’ – गगन थापा

4

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा विद्रोहगर्ने चेतावनी दिएका छन् ।

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री थापाले सभापति शेरबहादुर देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरुले सहेर बस्न नसक्ने चेतावनी दिएका छन् ।

पार्टीक सभापतिले महत्त्वपूर्ण निर्णय गर्दा पनि महामन्त्रीहरुसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौंसम्म नबोलाएकोमा असन्तुष्टि जनाउँदै उनले नेतृत्वले गरेको गल्तीको भारी अब आफूहरूले बोक्न नसक्ने बताए ।

महामन्त्री थापाले कांग्रेस कसैको प्राइभेट कम्पनी नभएको भन्दै उनले भने, ‘कांग्रेस बदल्ने गुटलाई बलियो बनाउँदै जाऔं, नबदल्ने गुटलाई कमजोर बनाउँदै जाऔं । कुनै विषयको निर्णय गर्दा आम जनताले के भन्छन् भन्ने सोच्नुपर्नेमा पार्टीले गर्ने अहिलेको निर्णय प्रधानमन्त्री हुन्छु कि हुन्न भन्नेमा केन्द्रित छ । हामी सानासाना कुरामा लोभिएका छौं ।’

कांग्रेस सहभागी भएको सरकारले केही दिनअघि गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्व र जनचासोका विषयमा निर्णय गर्दा पनि पार्टीमा छलफल नभएको भन्दै महामन्त्री थापाले आक्रोश पोखेका थिए । रेशम चौधरीलाई दिएको आममाफी, नागरिकता प्रमाणीकरण, प्रदेश सरकारमा कांग्रेसको सहभागिता, प्रदेश मन्त्रालय फुटाउने, सांसद विकास कोषलगायतका कयौं विषयहरुमा उनले असन्तुष्टि जनाएका हुन् । ती सबै निर्णय पार्टी सभापति शेरबहादुर देउवाले एक्लै गरेको भन्दै महामन्त्री थापाले यस्ता सूचना आफूले सञ्चारकर्मीका समाचार सुनेर थाहा पाएको बताए ।

पार्टीमा गलत भएको कुरा बोल्न डराउने गरेको भन्दै उनले अब आफूले यस्ता कुरा नसहने बताएका थिए । पार्टीको आधारभूत मान्यतासँग बाझिने गरेर गरेका निर्णय पार्टीका सबै सदस्यले बोक्नुपर्ने अवस्था आएको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए । र यसरी नेतृत्वले गरेको गलत निर्णयको भारी बोकिनै रहने हो भने थेग्न नसकिने उनको भनाइ थियो ।

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनले सञ्चारकर्मी लिलाराज खनालको नेतृवमा कार्यसमिति चयन गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू