काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले जित शृंखलालाई पाँचौँ खेलसम्म पुर्याएको छ। गत साता घरेलु मैदानमा शृंखला क्लिन स्विप गरेको नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी) माथि चार विकेटको जित हात पार्यो। लिग-२ मा नेपालले यसअघि लगातार पाँच खेल जितेको थिएन।
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेको नेपालले पीएनजीलाई २०३ रनमा सीमित गरिदिएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा २०७ रन बनायो।
मार्च, २०२२ मा दुबईमै पीएनजीलाई दुई पटक हराएको नेपाललाई तेस्रो पटक जित दिलाउन कुशल भुर्तेलले अर्धशतक बनाए। लिग–२ का पछिल्ला दुई खेलमा एक–एक रनमा आउट भएका ओपनर कुशलले यसपल्ट आक्रामक ब्याटिङ गरे। ६९ बलमा ५६ रन बनाएका उनले पाँच चौका प्रहार गरेका थिए।
कुशलले पहिलो विकेटका लागि आशिफ शेखसँग ७६ रनको साझेदारी गरे। आशिफले ३९ बलमा ४४ रन जोडेका थिए। विजयी टिमका लागि आरिफ शेखले ३३, दीपेन्द्र सिंह ऐरीले २२ र कप्तान रोहित पौडेलले २० रनको योगदान गरे।
पीएनजीका लागि असाद भालाले अलराउन्ड प्रदर्शन गरे। तीन विकेट लिएका उनले ३६ रन जोडे। यद्यपि यसले उनको टिमलाई २६ औँ हारबाट जोगाउन सकेन।
यूएईमा विजयी सुरुवात गरेपछि नेपालको २९ खेलबाट २८ अंक भएको छ। लिग–२ को शीर्ष पाँचमा रही एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा रहेको नेपाल र यूएईबीच एक अंकको दूरी छ।
गत साता आफ्नै मैदानमा भएको नामिबियाविरुद्धको शृंखलामा एक खेल मात्र जितेको यूएईले नेपालभन्दा एक खेल कम खेलेको छ। यी दुई टिम आगामी बिहीबार आमनेसामने हुनेछन्।