काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका मन्त्रालयले जानकारी दिएको हो ।
उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यस्तै, सक्रिय संक्रमित १४ हजार ९२५ रहेको छ ।