नेपाललाई विश्व बैंकको १६ अर्ब ३७ करोड सहयोग

15

(काठमाण्डौं) – विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड रुपैयाँ तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख रुपैयाँ सहयोग गर्न लागेको हो ।

अर्थ मन्त्रायलमा बुधबार आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र विश्व बैंकका नेपाल प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार विश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

विद्यालय क्षेत्र विकास कार्यक्रमअन्तर्गत यो वर्ष ७० लाख विद्यार्थी, एक लाख असी हजार शिक्षक र तीस हजार बढी सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुने सम्झौतामा उल्लेख छ । युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ ।

त्यो परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् । कार्यक्रममार्फत नेपालको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ ।

समाचार वर्गहरू