काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली किर्गीस्तानमा आयोजना हुने ’नादेझ्दा कप’ खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपका लागि १८ खेलाडी २३ सदस्सीय नेपाली टिम बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार १८ सदस्सीय नेपाली टोलीको घोषणा गरेको थियो । यस्तै, एन्फाले बुधबार नै नेपाली टोलीको बिदाई गरेको थियो । नेपालले घरेलु भूमिमा आयोजना हुने १३ औं सागको तयारीको रुपमा यस प्रतियोगितालाई लिएको छ ।
नादेझ्दा कपमा आयोजक किर्गीस्तान सहित नेपाल, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने छन् । नेपालले आयोजकसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले किर्गिस्तान बीचको पहिलो खेल आगामी आइतबार हुनेछ । यस्तै, दोस्रो खेलमा नेपालले भदौ २३ गते उज्वेकिस्तान र भदौ २४ गते ताजिकिस्तानसँग खेल्नेछ ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै, तेस्रो र चौंथोले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल यही भदौ २६ गते हुनेछ ।