काठमाडौं – नेपाल सरकार र विश्व बैंकबीच ग्रामीण उद्यम र आर्थिक विकास आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सरकार र विश्व बैंकबीच ८ करोड अमेरिकी डलर अर्थात करीब ९ अर्ब ५० करोड रुपैयाँ बराबरका आर्थिक सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरे ।
सो सम्झौतापछि ग्रामीण कृषि उत्पादनको बजार पहुँच र उद्यमशिलताको प्रवर्धन गर्दै कोरोना महामारीपछिको आर्थिक पुनरउत्थानलाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।
कार्यक्रममा अर्थ सचिव ढुंगानाले आयोजना कार्यान्वयनपछि नेपालको कृषि र बजारको सम्बन्धलाई स्थापित गर्ने तथा कृषि–व्यवसायमा बढ्ने प्रतिस्पर्धाले महामारीपछिको आर्थिक पुनरउत्थानलाई सघाउने बताए । यो आयोजना सात वटै प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ ।