नेपाल विश्वकप टी–२० मा छानियो, कतारमाथि सानदार जित

61

काठमाडौँ – नेपाल टी–२० विश्वकपमा छानिने लगभग पक्का भएको छ ।

कतारमाथि सनसनीपूर्ण ५ रनको जित हासिल गर्दै नेपाल भारत–श्रीलंकाको संयुक्त आयोजनामा आगामी फेब्रुअरीमा आयोजना हुने टी–२० विश्वकपमा छानिने लगभग पक्का जस्तै भएको हो ।

विश्वकप छनोट नजिक पुगेको भए पनि बुधबार ओमानविरुद्ध हुने खेलले विश्वकपको सुनिश्चितता निश्चित गर्नेछ । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अंक छ । यूएई र जापानको समान २ अंक छ ।

१४८ रनको विजयी चुनौती लिएर मैदानमा उत्रिएको कतारले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १४२ रन बनाएपछि नेपाल ५ रनले विजयी भएको हो ।

१४८ रनको चुनौती पछ्याउने क्रममा कतारले १४२ रन बनायो । कुनै समय १२ ओभरमा १ विकेटको क्षतिमा ९७ रन बनाएर जित नजिक पुगेको कतारले त्यसपछि लगातार विकेट गुमाउँदा हार बेहोर्न पुगेको हो ।

कतारका लागि ओपनरद्धय इमाल लियानागेले ५६ तथा जुबेर अलीले ५२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ५, नन्दन यादवले २ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

नेपाल २ अंक बोनस अंकसहित सुपर सिक्समा पुगेको हो । सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईलाई हराएको थियो । नेपाल एक रनले विजयी भएको थियो ।

समाचार वर्गहरू