नेवार समुदायले आज म्ह: पूजा गर्दै

20

(काठमाडौं) – नेवार समुदायले आज म्ह: पूजा मनाउँदै छन् । नेवारी भाषामा म्ह: भनेको शरीर हो । नेवार समुदायद्वारा मनाइने म्ह: पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म अर्थात (म्ह:) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहेको छ । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीर भित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दाशनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्बदन्ती अनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ । प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ ।

शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्ह: पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । म्ह: पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एक वटा मण्डल बनाईछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमश: बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ ।

यस दिन राष्ट्रिय विभूति शंखधर साख्वाले देशका जनतालाई ऋण मुक्त गराई चलाएको नेपाल संवत् पनि फेर्ने गरिन्छ । विधिपूर्वक म्हस्पूजा गरेमा संकट आदि दशा निर्मूल हुने, द्वादशा हट्ने, सप्तविशक्ति नक्षत्र आदि अनुकूल हुने, कार्य र मन्त्र सिद्धि प्राप्त हुने, सबै सत्व जगत्मा शान्ति हुने र देव, मनुष्य, राक्षस, यक्ष, किन्नर र प्रेत आदिको उद्धार हुने विश्वास छ ।

समाचार वर्गहरू