(काठमाडौं) – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गरेको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । भारतले नेपाली भूभाग अतिक्रमण गरी जारी गरेको नयाँ नक्साको विरोधमा काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।
कालो ब्यानर र राष्ट्रिय झण्डा सहित प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो । बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरा सहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।
नेविसंघका नेता कुन्दनराज काफ्लेका अनुसार नवराज त्रिपाठी लगायत केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा कालापानी, लिपुलेक, कालापानी लगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि मुलुकभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।