काठमाडौं – काठमाडौंमा मोबाइल लुटपाटमा संलग्न तिनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कालीमाटीका २४ वर्षीय च्वाँचे भनिने सुरज थापा मगर, सोही ठाउँका सन्तोष तामाङ, धादिङ धुनिवेशीका प्रविन भण्डारी रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज वोहोराले जानकारी दिए ।
प्रवक्ता वोहोराका अनुसार पक्राउ परेका सुरज थापा २०८० सालमा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए। प्रविन भण्डारी यसअघि नै चोरी मुद्दामा पक्राउ परेको अभिलेख भेटिएको छ।
पछिल्लो समय न्युरोडको टंकेश्वर एरियामा चोरी गर्ने समूहको बिगबिगी भइरहेको सूचना प्रहरीले पाएको थियो। हिँड्दा हिँड्दै मोबाइल लुटिएको उजुरी आउँथ्यो त कहिले घाटीमा लगाएको सिक्री र अन्य गरगहना लुटिएको भन्दै निवेदन आउन थालेको थियो।
आइतबार पनि काठमाडौं–१३ टंकेश्वरबाट एक व्यक्तिलाई कुटपिट गरी वन प्लस मोबाइल लुटेको सूचना प्रहरीले पाएको थियो। दिनदहाडै चोरी बढ्न थालेपछि प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो।
उनीहरूको समूहले केही दिन अघि विजय फार्मेसीबाट आइफोन १४ चोरी गरेको, वसन्तपुर बस्ने हिमाल सापकोटालाई कुटपिट गरी घाइते बनाएको, शिव बुक स्टेशनरीबाट रेडमी कम्पनीको मोबाइल चोरी गरेको, वैशाख ३१ गते भोटेबहालको एक होटलमा बस्न आएका व्यक्तिको सुनको गहना, मोबाइल फोन र अन्य सामाग्री चोरी गरेको लगायत विभिन्न ठाउँमा चोरीमा संलग्न रहेको प्रमाण समेत भेटिएको प्रहरीले जनाएको छ।