पढाइसँगै बंगुरपालनमा सक्रिय विद्यार्थी; स्वदेशमै मनग्य आम्दानी

22

रासस/तुलसीपुर – स्वदेशमा रोजगारी पाइँदैन भनेर धेरै युवाहरु विदेशिएका हुन्छन् । धेरै धन कमाउने आशमा आफ्नो घरपरिवार छाडेर विदेश जाने युवाको संख्या बढ्दै जान थालेको छ । तर, दाङका एक विद्यार्थी बंगुरपालन गरेर स्वरोजगार बनेका छन् ।
दाङ घोराही–७ राजपुर निवासी टोपबहादुर बुढाथोकीले बंगुरपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले बबई बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर व्यवसाय शुरु गरेका हुन् । “विद्यालयबाट बाँकी रहेको समयलाई बंगुरपालन पेशामा समर्पण गरेको छु”, उनले भने ।

उनले करीब छ महिनाअघि बैंकबाट ऋण लिएर रु ९ लाखको लगानीबाट बंगुरपालन व्यवसाय शुरु गरेका हुन् । अहिले उनले ल्यानरुप जातको ११ र घरानो जातका १५ बंगुरपालन गरेका छन् ।
बंगुरपालन गर्न थालेको भनी शुरुमा समाजमा धेरैले खिसीट्युरी गरेपनि पछिल्लो समय यही व्यवसाय गर्न धेरै लालायीत छन् । “हाम्रो समाजको सोचाइ पनि गलत रहेको छ”, बुढाथाकीले भने, “समाजमा रहेको यस प्रकारको सोच परिवर्तन हुन जरुरी छ ।”

अहिले उनले दुई जनालाई रोजगारीसमेत दिएका छन् । आगामी दिनमा बंगुरपालनसँगै बाख्रापालन पनि अघि लाने उनको सोच छ । विदेशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाए मनग्य आम्दानी गर्न सकिने भन्दै स्वदेशमै पसिना बगाउन थालेको उनले बताए ।

समाचार वर्गहरू