काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बर्खासम्ममा परिणाम दिन नसक्ने मन्त्रीलाई फिर्ता बोलाईने बताएका छन्।
नेपाली कांग्रेस, बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले परिणाममूखी काम गर्न नसक्ने मन्त्री पाँच महिनामा घर फर्किने बताए।
महामन्त्री थापाले २०८४ सालको चुनाव नेपाली कांग्रेस एक्लै चुनाव लड्ने बताए। उनले गएको चुनावमा पनि आफूले एक्लै जानुपर्छ भनेर भने पनि सफल नभएको स्मरण गराउँदै आगामी चुनावमा जुनसुकै हालतमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने दोहोर्याए।
महामन्त्री थापाले चुनाव जित्ने विषयमात्रै सबैथोक नभएको भन्दै आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावमा जाने बताए । ‘हामी अब विसं २०८४ को निर्वाचन आफ्नै तागतमा लड्नुपर्छ’, उनले भने ।
कांग्रेस जिल्ला सभापति नारायण गौडेलको अध्यक्षतामा भएको सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, शहीद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान गरिएको थियो।