मंगलबारे – नेपाल भ्रमण वर्षको प्रचार गर्न र यसलाई सफल बनाउन इलाममा सञ्चालित होटल एशोसिएशनले एक रुपैयाँमा पर्यटकलाई बास बसाएको छ । एशोसिएशनको सहकार्यमा जिल्ला सदरमुकाममा सञ्चालित पाँच वटा होटलले एक रुपैयाँमा पर्यटकलाई बास बसाएका हुन् ।
सन् २०१९ को अन्तिम दिन मंगलबार होटल ‘बुक’ गर्न पुगेका पहिलो (सेवाग्राही) पर्यटकलाई एक रुपैयाँमा बास बसाउनुका साथै सोही रकममा दुई छाक खानाको व्यवस्था गरिएको हो । विदेशी पर्यटकले आफ्नो देशमा फर्किएपछि नेपाल भ्रमण वर्ष सन् २०२० को राम्रो प्रचार गरुन् भनेर यस्तो कार्यक्रम ल्याइएको होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताए ।
होटल व्यवसायी संघ इलामले भ्रमण वर्षलाई लक्षित गरी अघि सारेको योजनाअनुसार इलामको चियाबारी कटेजसहित ग्रिन भ्यू होटल, समिट होटल, हाम्रो पोख्रेली होटल र ग्रिनसिटी गेष्ट हाउसमा पाँच जना पर्यटकलाई भाग्यमानी पर्यटकको रुपमा लिँदै सो सुविधा प्रधान गरिएको थियो । उनीहरुलाई स्वागतसहित प्रमाणपत्र वितरण गरी इलामको पर्यटन सद्भावदूतका रुपमा घोषणासमेत गरिएको छ ।
रासस