पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान

24

काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ गएका पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया गएका हुन् । राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोगमा सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ ।

पुस २२ गते विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ । कार्यक्रममा गैरआवासी नेपाली संघ (एनआरएनए) लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ । कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, ५८औँ पटक नेपाल भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

रासस

समाचार वर्गहरू